Engaging children in art during global pandemic.
This is an Artudio’s art initiative focusing to all the creative children around the world to engage and connect them through Art virtually. We are exhibiting an artworks (Family Portraits) by little artists (Age 3-16 children) from around the world created during global pandemic of Corona Virus (Covid-19) & lockdown. These amazing little artists are staying at home and spending quality time with their family, sharing love and care with each other, observing and creating family portrait to inspire everyone in the world in this hard time in the world.
All the participating Artworks will be archived digitally in Bal Kala Sangrahalaya, museum for little artists an art and education initiative of Artudio.
You can also send your Family portrait for the exhibition Click Here
Read on the link:
‘भिजुअल आर्टिस्ट’ कैलाश श्रेष्ठ अचेल केटाकेटीका चित्रकला हेर्न व्यस्त छन्। स्वयम्भूस्थित आर्टुडियो (सेन्टर फर कन्टेम्पोररी भिजुअल आर्ट्स) का संस्थापक कैलाशले देश लकडाउनमा भए पनि केटाकेटीको रचनात्मकतामा ‘लकडाउन’ लाग्न नहुने सोचेर अनलाइन प्रदर्शनी सुरू गरेका हुन्।
उक्त प्रदर्शनीमा ३ वर्षदेखि १६ वर्षका केटाकेटीले सहभागिता जनाउन सक्छन्। प्रदर्शनीको मुख्य ‘थिम’ हो, ‘फ्यामिली पोट्रेट’। कैलाश यसै प्रदर्शनीका लागि प्राप्त चित्र हेर्न व्यस्त छन्।
अहिलेको समय प्रायः बालबालिका परिवारसँगै छन्। कुरा बुझ्ने उमेरका प्राय: केटाकेटीलाई समेत कोरोना भाइरसबारे जानकारी भइसकेको छ। यो समयमा उनीहरू के सोचिरहेका छन्, आफ्नो परिवारसँग कसरी समय बिताइरहेका छन्, आमाबुवा र परिवारका अन्य सदस्यसँगको सम्बन्ध कस्तो भइरहेको छ, के महशुस गरिरहेका छन् जस्ता प्रश्नका उत्तर जान्न र केटाकेटीसमेत केही कुरामा संलग्न रहून् भन्ने सोचेर प्रदर्शनी सुरू गरेको कैलाश बताउँछन्।
पहिले अप्रिल महिनामा आर्टुडियोले बालबालिकाकेन्द्रित वार्षिक कार्यक्रम आयोजना गर्थ्यो। कोरोनाका कारण यसपालि कार्यक्रम भएन।
‘यसो भन्दैमा केटाकेटीलाई निष्क्रिय बस्न दिनु पनि त भएन। झन् यस्तो बेला उनीहरूको दिमाग सकारात्मक र रचनात्मक कुराले भरिदिनुपर्छ। त्यसैले अनलाइन प्रदर्शनी सुरू गरेका हौं,’ कैलाशले प्रदर्शनीबारे सेतोपाटीसँग भने, ‘खाली बसेको बेला मान्छेको दिमागमा अनेकौं चित्र आउँछन्। बालबालिकाले चित्रण गरेका भावना शुद्ध, वास्तविक र निर्दोष हुन्छन्। ती चित्रले उनीहरूको मनोविज्ञान बुझ्न मद्दत गर्छ।’
नेपालबाट मात्र नभई बाहिरी मुलुकहरूबाट समेत प्रदर्शनीमा सहभागिता भइरहेको कैलाश बताउँछन्।
प्रदर्शनीमा थाइल्यान्ड, भारत, डेनमार्क र अमेरिकी मुलुकबाट चित्र आउने क्रम जारी छ। दैनिक ५ देखि १० वटासम्म चित्र प्राप्त भइरहेको उनले बताए।
‘कतिपयले विषयवस्तु नबुझी पठाउनुहुन्छ। उहाँहरूलाई विषयवस्तु बुझाउछौं र पुनः पठाउन भन्छौं। हाम्रो विषयवस्तु फ्यामिली पोट्रेट हो,’ कैलाशले विषयवस्तुबारे थप भने, ‘बालबालिकाले आफ्नो परिवार, पारिवारिक सम्बन्ध र अहिलेको समय परिवारसँग कसरी बितिरहेको छ, त्यो देखाउने हो। बनावटी र कृत्रिम चित्र होइन। चित्र बनाउनु पछाडिको कथा समेटेर केही शब्द पनि लेख्न भनेका छौं।’
कैलाशका अनुसार प्रदर्शनीका लागि पठाइएका चित्र भावपूर्ण, भावनात्मक, अभिव्यक्ति रहेको, समय सान्दर्भिक र सत्य पारिवारिक कथामा आधारित हुनुपर्छ।
प्रदर्शनीका केही चित्रले कैलाश आफैंलाई पनि भावुक बनाएको छ। ९ वर्षीय बालिकाको चित्रबारे बताए, ‘उनको बुवाको मृत्यु भइसकेछ। त्यही कुरा चित्रमा उतारेकी छिन्। बाँकी सबै परिवार कोरोना भाइरसबाट जोगिन घरभित्रै बसिरहेको, उनका बुवाले भने उनीहरूलाई आकाशबाट हेरिरहेको चित्र छ।’
दीया सिंह महर्जनको यो चित्रसँगै उनले लेखेर पठाएकी रहिछिन्, ‘मेरो परिवारलाई घरभित्र सँगै बस्ने मौका मिलेको छ। यति बेला बुवाले भने हामीलाई स्वर्गबाट हेर्दै हुनुहुन्छ होला। म प्रार्थना गर्छु सबै चाँडै ठीक होस्।’
५ वर्षीय युक्ती श्रेष्ठले पनि आफ्नो चित्रमा नजिकका परिवार सदस्य र टाढा रहेका सदस्यसँग कसरी सम्पर्कमा छन् देखाएकी छन्। उनले लेखेकी छन्, ‘लकडाउनका कारण ममीबाबासँग धेरै समय बिताउन पाएकी छु। तर मेरो हजुरबुवा र हजुरआमा सँगै हुनुहुन्न, उहाँहरूसँग बिहान ब्रेकफास्टको बेला कुरा गर्छु।’
प्रदर्शनीमा ५ वर्षका दिव्यम ढकालले भने भविष्यको सकारात्मक दृष्टि आफ्नो चित्रमा उतार्न खोजेका रहेछन्।
उनले आफ्नो परिवारका सदस्य सबैको चित्र बनाएका छन्। चित्रसँगै लेखेका छन्, ‘कोरोना भाइरस गयो। हामी सबै पार्टनर हौं। हामीले कोरोनालाई मारिदियौं। मैले परीलाई निलो र ल्याभेन्डर रङको औंठी ल्याइदिन भनेको छु। यो जादुको औंठी हो, यसले सबैलाई बचाउँछ। तर उनले ल्याउन सकिनन् किनभने सबै पसल त बन्द छ। मेरो घर झिलझिलेले सजाइदेऊ पनि भनेको थिएँ। तर गरिदिइनन् किनभने सबै पसल बन्द छन्।’
प्रदर्शनीमा एक सयभन्दा बढी चित्र छन्। हरेक चित्रमा भिन्न पात्र, भिन्न परिवेश र भिन्न कथा।
कैलाश ती साना नानीबाबुको दिमागमा पर्न गएको असर र आत्मबल देखेर अचम्मित छन्। उनका अनुसार, बालबालिका निकै रचनात्मक हुन्छन्।
‘तर जति उनीहरू ठूलो हुँदै गयो, आफूले गरेका काम देखाउन लजाउँदै जान्छन्। यो सबै समाज र पारिवारिक वातावरणका कारण हुने हो। त्यसैले परिवारका हरेक सदस्यले कला बुझ्न जरुरी छ,’ कैलाश भन्छन्।
उनी बालबालिकालाई सिकाउने भन्ने नहुने बताउँछन्। तर उनीहरूले गरेको कामको प्रशंसा र हौसला दिनुपर्छ। समयसँगै उनीहरूले बुझ्ने र त्यही हिसाबले विकास गर्न सक्नेमा कैलाश विश्वास राख्छन्। कलालाई अन्य विधाका विषय जसरी पढाउन मिल्दैन उनी बताउँछन्। कला भनेको रचनात्मक भावना र कुराहरू दर्शाउनु हो।
उनका अनुसार बालबालिकालाई कला बुझाउन यो उचित समय हो। प्रायः बालबालिकाले चित्रकला भन्नासाथ चित्र कोर्नु मात्र बुझ्दै आएको र उनीहरूका परिवारले समेत यो विषयलाई वेवास्ता गर्ने उनको भनाइ छ। तर डिजिटल माध्यममा हुने प्रदर्शनीमा बालबालिका मात्र नभई अभिभावकलाई समेत ध्यान पुर्याउनुपर्ने हुन्छ। यस्तोमा बालबालिका साथै अभिभावकले समेत चित्रकला बुझ्ने मौका पाएको कैलाश मान्छन्।
‘आफ्नो छोराछोरीले प्रदर्शनीका लागि चित्र पठाउने भनेपछि परिवारका सदस्यले समेत ध्यान पुर्याउनुपर्छ। यति बेला उनीहरूलाई केही विषय ज्ञान हुँदैन, ती कुरा हामी आर्टुडियोका सदस्यले बुझाइदिने गरेका छौं,’ उनले बताए।
प्रदर्शनीमा केही बालबालिकाले दोहोरो चित्र समेत पठाउने गरेका छन्। आफूजस्तै उमेरकाले बनाएको चित्र देख्दा अरू केटाकेटीलाई समेत हौसला मिलेको र चित्र कोरेर पठाएको अनुभव कैलाशको छ। यो प्रदर्शनीमार्फत् बालबालिकाका साथै अभिभावकसँग पनि राम्रो सम्बन्ध गाँसिएको बताउँछन्।
प्रदर्शनीका हरेक चित्र डिजिटल हिसाबमा बालकला संग्रहालयमा अभिलेखका रूपमा राखिने कैलाशले जानकारी दिए।
भने, ‘भोलिका दिनमा यी चित्रको डिजिटल बुक बनाउन पनि सकिन्छ। अहिलेको समयमा जतिसक्दो बढी बालबालिका कला क्षेत्रमा संलग्न होऊन् र यो समयमा आफूलाई रचनात्मक बनाउन सक्रिय रहून् भन्ने हाम्रो प्रयास हो।’
चैत १३ गते देखि सुरू आर्टुडियोको प्रदर्शनीमा सहभागी हुन फारम भर्नु पर्छ।
प्रकाशित मिति: आईतबार, वैशाख ७, २०७७, १४:२६:००
Read on the link:
काठमाडौं, चैत ३० : कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण संसारभरका विद्यालय बन्द छन्। जसले करोडौं बालकालिका यतिवेला घरभित्रै बसिरहेका छन्। उनीहरु के सोचिरहेका होलान?
आम मानिसले कोरोनाबारे नै सोचिरहेका छन्। पक्कै पनि बालबालिकाको दिमागमा पनि यतिवेला कोरोनाबारेका जिज्ञासा होलान। उनीहरु कोरोनाबारे मनमा लागेका विषय कसरी अभिव्यक्त गर्छन्? अनुभव कसरी साट्छन्?
स–साना बालबालिकालाई मनमा लागेका तथा आफ्ना अनुभव व्यक्ति गर्ने सजिलो माध्यम चित्रकला हो। यो यस्तो माध्यम हो, जहाँ उनीहरुले मनका भाव र मतिष्कको प्रयोग गरेर स्वरुप दिने प्रयास गर्छन्।
यस्तै प्रयास गरेकी छन्, ललितपुरकी १० वर्षीया युना राईले। आफ्नो मनोभावलाई चित्रकलामा प्रस्तुत गरेकी उनी विदेश रहेका बुवालाई सम्झदै भन्छिन्, ‘मेरो पापा अमेरिकामा हुनुहुन्छ। उहाँले हामीलाई यहाँ सेफ बस्नु भन्नु भएको छ। मैले पनि पापालाई सेफ बस्नु भनेर प्राथना गरेको छु। किनकि, त्यहाँ कोराना भाइरस धेरै फैलिको छ।’
युनाले कोरोनाको संक्रमण फैलिएको समयमा आफ्नो बुवासँग छुट्टिनुपरेको पीडालाई चित्रमा देखाउँने प्रयास गरेको बताउँछिन्। जाउलाखेलस्थित सेन्जेभियर स्कुलमा कक्षा ६ मा पढ्ने उनी पुस्तक पढ्न र देखेको कुनै विषयप्रति लेखेर आफ्ना विचार व्यक्त गर्ने गर्छिन्। यस्तै रुचि उनको चित्र बनाउनु पनि हो।
‘कोरोना भनेको नयाँ भाइरस हो। जुन संसारभर छिटोछिटो फैलिरहेको छ। यसबाट बच्न घरभित्रै सुरक्षित भएर बस्नुपर्छ,’ युना भन्छिन्।
११ वर्षीया कार्य बज्रचार्यकी आमा डाक्टर हुन्। उनी अस्पतालमा खटिइरहेकी छन्। कोरोना संक्रमण फैलिरहेको वेला अस्पतालमा खटिइरहेकी आमाको चिन्ता गरेकी छन, चित्रकलामार्फत।
लकडाउनको समयमा उनका बुवा भने घरबाटै काम गरिहेका छन्। तैपनि आमा अस्पताल गइराख्ने भएकाले चिन्ता लागेको उनको भनाइ छ। कार्यले लकडाउनमा घर बस्दा देखिने दृश्य र अनुभवलाई चित्रकलामा उतारेकी छिन्। रविभवनस्थित निसर्ग बाटिका स्कुलमा अध्ययरत कार्यको चित्रमा परिवारको भावनात्मक विषय देख्न सकिन्छ।
स्वयम्बुस्थित आर्टुडियोले अनलाइनमार्फत चित्रकला प्रदर्शनी सुरु गरेको छ। जसमा संसारभर रहेका बालबालिकाले चित्र कोरेर प्रर्दशनीमा पठाउन सक्नेछ। त्यहि प्रदर्शनीमा पठाएका चित्रमा कोरोनाबारे अनुभव व्यक्त गरेका हुन, युना र कार्यले।
फाउन्डेसका संस्थापक कैलाश के श्रेष्ठ विद्यालय बन्द हुँदा घरमा बसिरहेका बालबालिकाको मनोभाव बुझ्न र उनीहरुको पीडा चित्रमार्फत अभिव्यक्त गराउन प्रदर्शनीको सुरु गरेको बताउँछन्। ‘बालबालिका दिनभर जसो विद्यालयमा बसिरहेका हुन्छन्, तर अहिले भने आफ्ना परिवारसँग समय बिताउन पाएका छन्। तैपनि अहिले परिस्थितीलाई उनीहरुको के सोचिरहेका छन्? कस्ता कल्पनाहरु गरेका छन् भन्ने चित्रकलाबाट थाहा पाउन सकिन्छ,’ उनी भन्छन्।
बालबालिकालाई आर्ट सिकाउन सकियो भने उनीहरुको मनोभावलाई सहजै बुझ्न सकिने उनको अनुभव छ। ‘आम मानिसको सोचमा बालबालिकाले चित्र कोर्ने भनेको केही बनाउने भन्ने मात्रै बुझाइ छ। तर, वास्तवमा चित्रकलाबाट बालबालिकाको कुनै पनि विषयवस्तुप्रति कस्तो भावना, सोच राखेका छन् भन्ने क्षमतालाई थाहा पाउन सकिन्छ।’
प्रर्दशीमा राखिएका चित्रकलाले कतिपय बालबालिकाले घरभित्र बसेर पनि बाहिरी वातारण अर्थात कोरोना संक्रमणबारे आफ्नो बुझाइ, अनुभव उतारेका छन्। केहीले परिवारमा बसेर रमाउन पाएको समय पनि कलामा प्रस्तुत गरेका छन्।
हेटौडा, झापा, काँकडभिट्टा र काठमाडौं गरी ७० वटा चित्रकला अनलाइन पर्दशनीमा आएका छन्। स्नोलाभिया, अमेरिका, जापानबाट पनि बालबालिका चित्रकला पर्दशनीमा सहभागिता जनाएका छन्।
तीनदेखि १६ वर्ष उमेरका बालबालिकाले चित्र कोरेर अनलाइनमामार्फत प्रर्दशीमा पठाउन सक्छन्। आर्टडियोको वेबसाइट। फेसबुक र इन्स्टाग्रामबाट पनि चित्र अवलोकन गर्न सकिन्छ।
यस प्रदर्शनीमा राखिएका सबै चित्रकलालाई संकलन गरेर डिजिटल पुस्तकमा प्रकाशन गरिनेछ। यसलाई बाल कला संग्रहालयमा राखिने जनाएकाे छ।